काठमाडौं — तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व संकलनतर्फ उल्लेखनीय सफलता हासिल गरेको छ। चालु आर्थिक वर्षका लागि ४५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको नगरपालिकाले ४३ करोड ५३ लाख ७६ हजार ४७० रुपैयाँ २४ पैसा राजस्व संकलन गर्दै लक्ष्यको ९६.७५ प्रतिशत प्रगति हासिल गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालका अनुसार नगरपालिकाको केन्द्रीय कार्यालय तथा सबै वडा कार्यालयमार्फत विभिन्न कर तथा सेवा शुल्क शीर्षकबाट उक्त राजस्व संकलन गरिएको हो।
नगरपालिकाले सार्वजनिक गरेको राजस्व विवरणअनुसार सबैभन्दा बढी राजस्व केन्द्रीय कार्यालयबाट संकलन भएको छ भने वडा कार्यालयहरूले पनि आ–आफ्नो कार्यक्षेत्रबाट उल्लेखनीय योगदान दिएका छन्। सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, नक्सापास दस्तुर, सिफारिस दस्तुर तथा अन्य सेवा शुल्क नगरपालिकाको प्रमुख राजस्व स्रोतका रूपमा रहेका छन्।
प्रमुख प्रशासकीय अधिकृत लम्सालले लक्ष्यको झण्डै ९७ प्रतिशत राजस्व संकलन हुनुलाई स्थानीय सरकारको प्रभावकारी राजस्व व्यवस्थापन, कर प्रशासनको सुदृढीकरण र करदाताको बढ्दो जिम्मेवारीबोधको परिणामका रूपमा व्याख्या गरे।
नगरपालिकाले पछिल्ला वर्षहरूमा कर प्रशासनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै राजस्व संकलन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रयास गर्दै आएको जनाएको छ। त्यसैको परिणामस्वरूप लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएको नगरपालिकाको भनाइ छ।
स्थानीय तहको वित्तीय सबलीकरणका लागि आन्तरिक राजस्व महत्वपूर्ण आधार भएकाले आगामी आर्थिक वर्षमा करको दायरा विस्तार, राजस्व प्रशासनको आधुनिकीकरण तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउँदै राजस्व संकलन बढाउने योजना नगरपालिकाले अघि सारेको छ।
नगरपालिकाले आन्तरिक स्रोत परिचालनमा हासिल गरेको यो उपलब्धिले विकास निर्माण, आधारभूत सेवा विस्तार तथा स्थानीय शासनलाई थप प्रभावकारी बनाउन आर्थिक आधार मजबुत हुने अपेक्षा गरिएको छ।
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग