काठमाडौं । नेपाली कांग्रेसले भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा रहेका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिका निवासी कृषकद्वय सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह बजारमा समयमा रासायनिक मल उपलब्ध नभएपछि सीमावर्ती भारतीय बजार सोनवरसाबाट मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको जनाएको छ।
विज्ञप्तिअनुसार दुवै किसानलाई पक्राउ गरिएको करिब २० दिन बितिसक्दा पनि उनीहरूको रिहाइका लागि आवश्यक तदारुकताका साथ पहल हुन नसकेको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ। पार्टीले परिवार तथा स्थानीय समुदायसँग जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गरेको र ती किसान आफ्नै खेतमा प्रयोग गर्न मल खरिद गर्न गएको जनाएको छ।
कांग्रेसले नेपालमै समयमा रासायनिक मल उपलब्ध नहुँदा किसान छिमेकी मुलुकबाट दुई बोरा युरिया र डीएपी मल खरिद गर्न बाध्य भएको उल्लेख गर्दै यस्तो अवस्थालाई ‘मल गोदाममा, किसान जेलमा’ भन्ने विडम्बनापूर्ण परिस्थिति भएको टिप्पणी गरेको छ।
पार्टीले सरकारलाई किसानको रिहाइ तथा समस्या समाधानका लागि व्यवहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न आग्रह गरेको छ। साथै भारत सरकारसँग पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै खेतीका लागि मल खरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई अविलम्ब रिहा गर्न अनुरोध गरेको छ।
कांग्रेसले नेपाल–भारत सम्बन्ध केवल दुई सरकारबीचको सम्बन्ध मात्र नभई दुई देशका जनताबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयलाई सोही भावनाअनुसार समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा