काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सरकारको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नीतिमा विश्वस्त रहन आग्रह गरेका छन्।
अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले प्रवासी नेपालीलाई राष्ट्र निर्माणको महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताए।
‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यता स्पष्ट छ। त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने।
उनले प्रवासमा रहेका नेपालीहरू नेपालका विकास, समृद्धि र लगानी विस्तारका सद्भावना दूत भएको उल्लेख गर्दै उनीहरूको अनुभव, सीप र लगानी देशको आर्थिक विकासका लागि आवश्यक रहेको बताए।
अर्थमन्त्री वाग्लेले नयाँ सरकारले सुशासन स्थापना, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा आर्थिक सुधारका लागि काम गरिरहेको दाबी गरे। सरकार गठनपछि बितेका एक सय दिनमा सुशासन, पारदर्शिता र आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय सुरुआत भएको उनको भनाइ थियो।
‘सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म उच्च नैतिकता, मेरिटोक्रेसी र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, ‘अर्थतन्त्रलाई सही दिशामा लैजान आवश्यक सुधारका काम सुरु भएका छन्।’
उनले बजेटमार्फत कर प्रणाली, राजस्व व्यवस्थापन, बजेट वितरण तथा लगानीमैत्री वातावरण निर्माणका लागि नयाँ व्यवस्था गरिएको उल्लेख गर्दै प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरे।
प्रवासी नेपालीले आफ्नो वैध आम्दानी तथा विदेशी लगानी नेपालमा भित्र्याउन सरकारले आवश्यक सहजीकरण गर्ने उनले बताए। एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालन जस्ता अवधारणा प्रवासी नेपालीको लगानी विस्तारलाई लक्षित गरेर अघि सारिएको उनको भनाइ थियो।
सरकारले थप के–कस्ता सहजीकरण गर्नुपर्छ भन्नेबारे स्पष्ट सुझाव दिन पनि उनले प्रवासमा रहेका नेपालीलाई आग्रह गरे।
अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई नेपालको समृद्धिका महत्वपूर्ण साझेदारको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले देश निर्माणको साझा उद्देश्यमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा