काठमाडौं । ज्योति विकास बैंकले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव सम्पन्न गर्दै १९औँ वर्षमा प्रवेश गरेको छ। सहज पहुँचसहितको बृहत् वित्तीय सेवा र वित्तीय साक्षरतामार्फत नागरिकको जीवनमा दिगो समृद्धि ल्याउने उद्देश्यसहित २०६५ साल साउन ९ गते स्थापना भएको बैंकले वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गर्नुभएको थियो। समारोहमा सञ्चालक समितिका सदस्य, पूर्व अध्यक्ष, पूर्व सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सार्वजनिक गर्दै सम्बन्धित संस्थासँग सहकार्य सम्झौता गरेको छ।
बैंकले तिलगंगा इन्स्टिच्युट अफ अफ्थाल्मोलोजीसँगको सहकार्यमा ४० जना विपन्न तथा लक्षित वर्गका नागरिकलाई निःशुल्क कर्नियल प्रत्यारोपण (Corneal Transplantation) शल्यक्रियामा सहयोग गर्ने सम्झौता गरेको छ। यस पहलले दृष्टिविहीन जीवन बिताइरहेका नागरिकलाई पुनः दृष्टि प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण जडान गरिने भएको छ। यी उपकरणले नवजात शिशुलाई अल्पताप (Hypothermia) को जोखिमबाट जोगाउँदै शिशु स्वास्थ्य संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बैंकका अनुसार यी दुवै कार्यक्रमले स्वास्थ्य सेवाबाट वञ्चित तथा सीमित पहुँच भएका समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्नेछ।
वार्षिकोत्सवकै अवसरमा कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभा, सिर्जनशीलता र कलात्मक क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले ‘Jyoti’s Got Talent’ को तेस्रो संस्करण पनि आयोजना गरिएको थियो। प्रतियोगिताका उत्कृष्ट सहभागीलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो। अन्य सहभागीलाई पनि प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हरिचन्द्र खड्काले बैंकको १८ वर्षको सफल यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापक सञ्चालक, पूर्व अध्यक्ष, कर्मचारी, शेयरधनी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै बैंकले आगामी दिनमा अझ प्रभावकारी, सेवामुखी र उत्तरदायी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हाल ज्योति विकास बैंकले देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी