logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

रास्वपाको केन्द्रीय समिति बैठक: महाधिवेशन समीक्षा, सचिवालय गठनदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालनसम्मका ११ निर्णय

रास्वपाको केन्द्रीय समिति बैठक: महाधिवेशन समीक्षा, सचिवालय गठनदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालनसम्मका ११ निर्णय


  • बिहिबार, साउन १४ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकका ११ बुँदे निर्णय सार्वजनिक गरेको छ। पार्टीले पहिलो महाधिवेशनको समीक्षा, पार्टी सचिवालय गठन, वरिष्ठ नेता मनोनयन, स्थानीय तह निर्वाचनको तयारी तथा संगठन सुदृढीकरणसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको हो।

    बुधबार बसेको केन्द्रीय समिति बैठकका निर्णय महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्। बैठकले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै त्यसक्रममा भएका कमी–कमजोरीबाट पाठ सिकेर संगठनलाई अझ परिपक्व र सुदृढ बनाउने निर्णय गरेको जनाएको छ।

    बैठकले पार्टी विधानअनुसार सभापतिसहित निर्वाचित पदाधिकारीहरू रहने गरी पार्टी सचिवालय गठन गरेको छ। सचिवालयमा सभापतिसहित उपसभापति डा. स्वर्णिम वाग्ले, सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहनेछन्।

    यस्तै, सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

    बैठकले बैठक सञ्चालन कार्यविधि, सदस्यता सम्बन्धी कार्यविधि, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट र विभाग सम्बन्धी कार्यविधिसहितका विभिन्न संगठनात्मक दस्तावेज पारित गरेको जनाएको छ। ती दस्तावेजमा साउन १८ गतेसम्म प्राप्त हुने संशोधन सुझावसमेत समावेश गरिने उल्लेख गरिएको छ।

    रास्वपाले विभागीय नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट स्पष्ट लक्ष्यसहितको छ महिनाको कार्ययोजना माग गर्ने निर्णय पनि गरेको छ।

    सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन प्रत्येक महिना कम्तीमा एक दिन पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा मन्त्रीहरूसँग प्रत्यक्ष छलफल गर्ने निर्णय गरिएको छ।

    आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै योग्य, इमानदार र सक्षम उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रियाका रूपमा आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय पनि बैठकले गरेको छ।

    त्यसैगरी, ‘अन्तर्राष्ट्रिय युवा दिवस–२०२६’ लाई युवा जागरण र रूपान्तरणको अभियानका रूपमा मनाउने तथा त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरिएको छ।

    बैठकले नागरिकका गुनासा तथा समस्याको प्रत्यक्ष सुनुवाइका लागि सबै तहका पार्टी कार्यालयमा नियमित उपस्थिति रहने संयन्त्र निर्माण गर्ने निर्णयसमेत गरेको छ। पहिलो चरणमा केन्द्रीय कार्यालयमा दैनिक दुई जना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुई जना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एक जना जिल्ला समिति सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिने जनाएको छ।

    यसैबीच, सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै पार्टीका सबै तहका सदस्यलाई आत्महत्या तथा आत्मदाहसँग सम्बन्धित घटना वा सामग्री सामाजिक सञ्जालमार्फत सेयर वा प्रसारण नगर्न केन्द्रीय समितिले निर्देशन दिएको छ।

    बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा भएका घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page