काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धि हासिल गर्न अर्थतन्त्रको विस्तार आवश्यक रहेको भन्दै त्यसका लागि सरकार र बैंकिङ क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका छन्।
नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको वर्तमान अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयमा आयोजित २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकार र निजी बैंकिङ क्षेत्रले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले भोगिरहेका समस्या प्रत्यक्ष रूपमा सुन्न, समाधानका लागि सरकारी पहल गर्न तथा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न छलफल आयोजना गरिएको बताए। उनले बैंक तथा बैंकरलाई आफ्नो क्षेत्रका नीतिगत र व्यावहारिक समस्या खुलस्त रूपमा राख्न आग्रह गर्दै सरकारले समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
“अर्थतन्त्रको विस्तारका लागि आर्थिक राजकाजको जहाज मोडेका छौँ। अब अर्थतन्त्रलाई ७४ खर्ब रुपैयाँको आकारमा पुर्याउने लक्ष्य छ। त्यसका लागि लगानी बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ,” उनले भने, “बैंकहरूले कर्जा विस्तार गर्न किन सकिरहेका छैनन् ? सरकारले गर्नुपर्ने केही छ भने खुलस्त भन्नुहोस्, हामी सहजीकरण गर्छौं।”
उनले बैंकहरूले कर्जा विस्तारमा देखिएका समस्या, नीतिगत अवरोध तथा सुधारका प्रस्तावहरू एकीकृत रूपमा मन्त्रालयमा बुझाउन आग्रह गर्दै आवश्यक नीतिगत निर्णयमार्फत समाधान खोजिने बताए।
छलफलमा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले देशमा लगानीको वातावरण छैन भन्ने धारणा पूर्ण रूपमा सही नभएको बताएका थिए। उनीहरूले बैंकिङ क्षेत्रमा केही नियामकीय चुनौती रहे पनि ती समाधान गर्न सकिने खालका रहेको धारणा राखे।
बैंकरहरूले जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबीच प्रतिस्पर्धा बढिरहेको र अन्य उत्पादनमूलक क्षेत्रमा पनि विस्तारै लगानीको माग बढ्न थालेको जानकारी गराए। उनीहरूले केही नीतिगत सहजीकरण सरकारले र नेपाल राष्ट्र बैंकले गरे अर्थतन्त्र थप चलायमान हुने बताए।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढ्दो लगानीलाई थप प्रोत्साहन गर्न सरकारको सहजीकरण आवश्यक रहेको बताए। उनले ठूला आयोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न आग्रह गरे।
सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रमा देखिएको सुस्ततालाई आर्थिक चक्रको स्वाभाविक प्रक्रिया भएको बताए। ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले व्यवसायीको आत्मविश्वास बढाउन तथा बैंकको कर्जा प्रवाह क्षमता विस्तार गर्न नीतिगत सुधार आवश्यक रहेको धारणा राखे।
एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ग्रामीण तथा विपन्न वर्गसम्म कर्जा विस्तार गर्नुपर्नेमा जोड दिए भने हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नयाँ आर्थिक वर्षसँगै उद्योगी–व्यवसायीमा लगानीप्रतिको उत्साह देखिन थालेको बताए।
एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले कोभिडकालमा प्रवाह गरिएका कर्जासम्बन्धी नीतिमा पुनरावलोकन आवश्यक रहेको बताए। स्ट्यान्डर्ड चार्टर्ड बैंकका गोरखशमशेर राणा, सिद्धार्थ बैंकका रामेश्वर बस्याल, नबिल बैंकका मनोज ज्ञवाली, नेपाल बैंकका तिलक पाण्डेलगायतका प्रमुख कार्यकारी अधिकृतहरूले पनि खराब कर्जाको प्रोभिजनिङ, चालु पुँजी कर्जा, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, व्यवसायीको आत्मविश्वास अभिवृद्धि तथा नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
छलफलमा सहभागी बैंकरहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय, लगानीमैत्री वातावरण तथा स्पष्ट नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन