logo

सोमबार, साउन २५ २०८३

kantipurpationlinetv

२०८३ साउन २५ सोमबार

‘सरकार शासकीय अराजकतामा फस्यो, संविधान र विधिको लेन मिच्न दिँदैनौँ’ : गगन थापा

‘सरकार शासकीय अराजकतामा फस्यो, संविधान र विधिको लेन मिच्न दिँदैनौँ’ : गगन थापा


  • आइतबार, साउन २४ २०८३
  • 0.7K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको र पूर्ण रूपमा बरालिएको आरोप लगाएका छन्।

    आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकारका गलत कदमलाई नियन्त्रणमा ल्याउँदै सही बाटोमा हिँडाउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसको रहेको बताए।

    प्रधानमन्त्री शाहले केही समयअघि आफूले चलाएको ‘गाडीमा ब्रेक नभएको’ भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले सरकारलाई संविधान र विधिको सीमाभित्र रहन चेतावनी दिए।

    ‘प्रधानमन्त्रीले मेरो गाडीमा ब्रेक छैन भन्नुभयो। स्पीडमा हिँड्ने उहाँको छनोटमा हाम्रो केही भन्नु छैन। स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर संविधान र विधिको लेन मिच्न दिँदैनौँ,’ थापाले भने।

    सरकार बरालिएको दाबी गर्दै उनले त्यसलाई सही ठाउँमा ल्याउने काम कांग्रेसले गर्ने बताए।

    थापाले आम नागरिकसँगको संवादका आधारमा देशमा अहिले तीन किसिमका मनोविज्ञान देखिएको पनि बताए। उनका अनुसार केही नागरिकमा अनिश्चितता छ भने केहीमा निराशा र केहीमा तीव्र आक्रोश देखिएको छ।

    ‘केही नागरिकमा अनिश्चितता छ। केही नागरिकसँग कुरा गर्दा हिजो पनि राम्रो भएन, आज पनि भएको छैन र भोलि पनि हुँदैन भन्दै हतास भएको पाउँछु। अनि केही नागरिकमा तीव्र आक्रोश छ,’ उनले भने।

    नागरिकमा देखिएको यही आक्रोश र छटपटीका कारण प्रधानमन्त्री शाहले केही दिनअघि ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै मध्यरातमा सामाजिक सञ्जालमा स्टाटस लेखेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समेत ‘जहाज हल्लिँदैमा नआत्तिन’ भन्दै स्पष्टीकरण दिनुपर्ने अवस्था आएको थापाको विश्लेषण छ।

    तर, नागरिकमा देखिएको आक्रोशबाट प्रतिपक्षी कांग्रेस खुसी हुन नहुने भन्दै उनले थप चिन्तित भएर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।

    विगतका राजनीतिक घटनाक्रम स्मरण गर्दै थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत नागरिकको असन्तोषबारे संसद् र पार्टी बैठकमार्फत सचेत गराएको बताए।

    ‘त्यतिबेला जनताको बारेमा कसैले जिम्मेवारी लिनु पर्दैन र तिमीहरूले भनेर हुँदैन, हामी जितेर आएका हौँ भनियो,’ उनले भने।

    नागरिकका असन्तोष र आन्दोलनहरू एकाएक नआउने उल्लेख गर्दै थापाले जनताको आक्रोशको एकमुष्ट अभिव्यक्ति चुनावमार्फत आउने गरेको बताए।

    संसद् र राजनीतिमा प्रतिपक्षको भूमिकालाई बिर्सेर सरकार निरंकुश वा पपुलिस्ट बन्न खोजे नागरिक तहबाटै ठूलो प्रतिरोध हुनसक्ने उनले चेतावनी दिए। प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा कांग्रेस जिम्मेवार र सही बाटोमा अघि बढिरहेको दाबीसमेत थापाले गरे।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page