logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

विमानस्थलमा नरम देखिएका देउवा चुनदेवीमा गरम, भने– राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान्?

विमानस्थलमा नरम देखिएका देउवा चुनदेवीमा गरम, भने– राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान्?


  • बिहिबार, साउन २८ २०८३
  • 56
    SHARES

    २८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेश उपचारपछि स्वदेश फर्किएलगत्तै चुनदेवीमा कडा रूपमा प्रस्तुत भएका छन् ।

    लामो समयको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय एकता र सहकार्यको सन्देश दिएका थिए । त्यसपछि कांग्रेस संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध भइरहेका कानुनी तथा राजनीतिक गतिविधिबाट विचलित नहुने बताएका छन् ।

    देउवाले आफू र पत्नी आरजु राणा देउवाविरुद्ध विभिन्न निकायमा मुद्दा तथा अनुसन्धान अघि बढाइएको दाबी गरे । अन्तर्राष्ट्रियस्तरमा समेत आफूहरूविरुद्ध मुद्दा परेको उल्लेख गर्दै उनले नेपालमा पनि कानुनी उल्झन सिर्जना गरिएको बताए ।

    ‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो,’ देउवाले भने, ‘यहीँ नेपालमा पनि मुद्दा लगाएको छ ।’

    उनले सर्वोच्च अदालतले आफू र आरजुलाई पक्राउ नगर्न आदेश दिएको दाबी गर्दै त्यसपछि पनि आफूहरूमाथि अन्यायपूर्ण व्यवहार भएको आरोप लगाए ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफूहरूमाथि पटकपटक अनुसन्धान गरेको उल्लेख गर्दै देउवाले हरेकपटक केही नभेटिएको दाबी गरे । यद्यपि आफूले कसैप्रति बदलाको भावना नराख्ने उनले स्पष्ट पारे ।

    देउवाले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले समेत केही गर्न नसकेको उल्लेख गर्दै आफूविरुद्ध लाग्ने अरू शक्तिले पनि केही गर्न नसक्ने दाबी गरे ।

    ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ?’ देउवाले प्रश्न गरे ।

    देशको अदालत र जनतामाथि आफूलाई पूर्ण विश्वास रहेको बताउँदै देउवाले आफूविरुद्ध हुने गतिविधिको जवाफ समयले दिने बताए ।

    गणतन्त्र आफ्नो व्यक्तिगत चाहनाले आएको नभई संविधानसभाको निर्णयबाट स्थापित भएको उल्लेख गर्दै उनले जनतालाई सर्वोच्च शक्ति भएको बताए ।

    ‘संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो । मैले मात्रै चाहेर ल्याएको हो ? संविधानसभाले ल्याएको हो गणतन्त्र,’ देउवाले भने, ‘नेपाली जनता सबैभन्दा ठूलो हो । जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ।’

    विदेशमा पाँच महिनाको उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाको विमानस्थलको अभिव्यक्ति तुलनात्मक रूपमा संयमित थियो । तर, चुनदेवीमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भने उनले आफूविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्दै कडा अभिव्यक्ति दिएका हुन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page