२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेश उपचारपछि स्वदेश फर्किएलगत्तै चुनदेवीमा कडा रूपमा प्रस्तुत भएका छन् ।
लामो समयको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय एकता र सहकार्यको सन्देश दिएका थिए । त्यसपछि कांग्रेस संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध भइरहेका कानुनी तथा राजनीतिक गतिविधिबाट विचलित नहुने बताएका छन् ।
देउवाले आफू र पत्नी आरजु राणा देउवाविरुद्ध विभिन्न निकायमा मुद्दा तथा अनुसन्धान अघि बढाइएको दाबी गरे । अन्तर्राष्ट्रियस्तरमा समेत आफूहरूविरुद्ध मुद्दा परेको उल्लेख गर्दै उनले नेपालमा पनि कानुनी उल्झन सिर्जना गरिएको बताए ।
‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो,’ देउवाले भने, ‘यहीँ नेपालमा पनि मुद्दा लगाएको छ ।’
उनले सर्वोच्च अदालतले आफू र आरजुलाई पक्राउ नगर्न आदेश दिएको दाबी गर्दै त्यसपछि पनि आफूहरूमाथि अन्यायपूर्ण व्यवहार भएको आरोप लगाए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफूहरूमाथि पटकपटक अनुसन्धान गरेको उल्लेख गर्दै देउवाले हरेकपटक केही नभेटिएको दाबी गरे । यद्यपि आफूले कसैप्रति बदलाको भावना नराख्ने उनले स्पष्ट पारे ।
देउवाले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले समेत केही गर्न नसकेको उल्लेख गर्दै आफूविरुद्ध लाग्ने अरू शक्तिले पनि केही गर्न नसक्ने दाबी गरे ।
‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ?’ देउवाले प्रश्न गरे ।
देशको अदालत र जनतामाथि आफूलाई पूर्ण विश्वास रहेको बताउँदै देउवाले आफूविरुद्ध हुने गतिविधिको जवाफ समयले दिने बताए ।
गणतन्त्र आफ्नो व्यक्तिगत चाहनाले आएको नभई संविधानसभाको निर्णयबाट स्थापित भएको उल्लेख गर्दै उनले जनतालाई सर्वोच्च शक्ति भएको बताए ।
‘संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो । मैले मात्रै चाहेर ल्याएको हो ? संविधानसभाले ल्याएको हो गणतन्त्र,’ देउवाले भने, ‘नेपाली जनता सबैभन्दा ठूलो हो । जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ।’
विदेशमा पाँच महिनाको उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाको विमानस्थलको अभिव्यक्ति तुलनात्मक रूपमा संयमित थियो । तर, चुनदेवीमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भने उनले आफूविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्दै कडा अभिव्यक्ति दिएका हुन् ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक