logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

‘अहंकार त्यागेर पार्टी एकतामा आउनुस्, देउवाजी अब अभिभावक बन्नुस्’ : सुजाता कोइराला

‘अहंकार त्यागेर पार्टी एकतामा आउनुस्, देउवाजी अब अभिभावक बन्नुस्’ : सुजाता कोइराला


  • शुक्रबार, साउन २९ २०८३
  • 0.8K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूलधारमा फर्किन र पार्टी एकताको पक्षमा उभिन आग्रह गरेकी छन्।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई अब पदको प्रतिस्पर्धाबाट माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेकी हुन्।

    राष्ट्र र पार्टीप्रतिको जिम्मेवारीलाई केन्द्रमा राख्दै पद तथा गुटभन्दा माथि उठेर कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ। उनले पार्टी सभापति गगनकुमार थापा सबै पक्षलाई समेटेर अघि बढ्न लचिलो र जिम्मेवार ढंगले प्रस्तुत भइरहेको भन्दै उनको नेतृत्वको प्रशंसासमेत गरिन्।

    बैठकमा आफ्ना पिता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै उनले कांग्रेस बलियो र लोकप्रिय हुँदा विभिन्न किसिमका चुनौती तथा षड्यन्त्रहरू आउने गरेको बताइन्।

    ‘गिरिजाबाबुले सधैं भन्नुहुन्थ्यो– कांग्रेस जब–जब बलियो र लोकप्रिय हुन्छ, तब–तब यसका विरुद्ध अनेक षड्यन्त्र सुरु हुन्छन्,’ उनले भनिन्।

    बाह्य तथा आन्तरिक चुनौतीका बीच पनि सभापति गगन थापाले कांग्रेसलाई परिपक्व ढंगले अघि बढाइरहेको कोइरालाको दाबी छ।

    थापाले सभापतिको जिम्मेवारी सम्हालेको सुरुवाती समयमा आफूलाई केही चिन्ता लागेको भए पनि पछिल्लो समय उनको कार्यक्षमता र व्यवहारबाट नेतृत्व क्षमता प्रमाणित भएको उनले बताइन्।

    थापाको नेतृत्वपछि कांग्रेसप्रति नयाँ पुस्ता र युवाको आकर्षण बढेको दाबी गर्दै कोइरालाले आगामी पाँच वर्षपछि हुने आमनिर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गरिन्। सातै प्रदेश तथा स्थानीय तहमा समेत कांग्रेसको प्रभाव विस्तार हुने उनको भनाइ छ।

    इतर पक्षका नेताहरूलाई लक्षित गर्दै कोइरालाले समयको आवश्यकता बुझेर विग्रहको बाटो त्याग्न आग्रह गरिन्। व्यक्तिगत पद र प्रतिष्ठाको टकरावले पार्टी र कसैको हित नगर्ने भन्दै उनले वैधानिक नेतृत्वलाई साथ दिएर कांग्रेसलाई थप एकताबद्ध, सशक्त र जनमुखी बनाउन सबै नेता–कार्यकर्तालाई आह्वान गरिन्।

    उनको जोड पार्टीभित्रको विवादलाई थप चर्काउनेभन्दा संवाद, सहकार्य र त्यागमार्फत समाधान खोज्नुपर्नेमा थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page