logo

शनिबार, साउन ३० २०८३

kantipurpationlinetv

२०८३ साउन ३० शनिबार

निर्वाचन क्षेत्रमा पुगे अर्थमन्त्री वाग्ले, जनताका समस्या र विकासका माग सुन्दै

निर्वाचन क्षेत्रमा पुगे अर्थमन्त्री वाग्ले, जनताका समस्या र विकासका माग सुन्दै


  • शनिबार, साउन ३० २०८३
  • 77
    SHARES

    तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन क्षेत्र तनहुँ–१ का विभिन्न स्थानमा पुगेर स्थानीयवासी तथा जनप्रतिनिधिसँग भेटघाट र अन्तरक्रिया गरेका छन्। दुईदिने जिल्ला भ्रमणका क्रममा उनले स्थानीयका समस्या, विकासका आवश्यकता तथा जनअपेक्षाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

    बन्दीपुर गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले तनहुँले देशकै आर्थिक नेतृत्व गर्ने जिम्मेवारीमा आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति पाएको भन्दै अर्थमन्त्री वाग्लेसँग जिल्लावासीको ठूलो अपेक्षा रहेको बताए। उनले भने, ‘बन्दीपुरले एउटा सुन्दर फूल पाएको छ, त्यो फूल डा. स्वर्णिम वाग्ले हुनुहुन्छ। देशले उहाँसँग आशा र भरोसा गरेको छ। पहिले देशलाई हेर्नुहोस्, त्यससँगै हामीलाई पनि हेर्नुहोला।’

    अध्यक्ष थापाले अर्थमन्त्री वाग्लेको कार्यकालमा बन्दीपुरको पर्यटन, पूर्वाधार तथा समग्र विकासले गति लिने अपेक्षा व्यक्त गरे। कार्यक्रममा स्थानीयवासीले व्यावसायिक कृषि, खानेपानी, सडक, स्वास्थ्य तथा पर्यटन पूर्वाधारका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले अस्पतालका लागि आवश्यक थप पूर्वाधार तथा सुविधाको माग राखेका थिए।

    अर्थमन्त्री वाग्लेले सीमित स्रोत र साधनलाई देशभर सन्तुलित रूपमा वितरण गर्नुपर्ने भन्दै तनहुँलाई विकास र बजेटका दृष्टिले अन्याय नहुने बताए। स्थानीय तहले प्राप्त बजेटलाई अनुशासित, व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

    अन्तरक्रियाका क्रममा अर्थमन्त्री वाग्लेले तनहुँसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए। आफू गोरखामा जन्मिए पनि पछिल्लो समय तनहुँसँग आफ्नो कर्म र राजनीतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै उनले भने, ‘पारिपट्टि गोरखामा जन्मिएँ। तनहुँसँग तीन वर्षअघि कर्म गाँसियो र अहिले म तनहुँवासी भएँ। यो माया र गुन कहिल्यै भुल्ने छैन।’

    वाग्लेले तनहुँका नागरिकप्रति आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै आफूले तनहुँमै घर बनाएर बसोबाससमेत थालेको बताए।

    आँबुखैरेनीमा भएको अन्तरक्रियामा स्थानीयवासीले आँबुखैरेनी–गोरखा सडक विस्तारका क्रममा बस्ती तथा नागरिकलाई पर्न सक्ने क्षतिबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सडकको मापदण्ड निर्धारण गर्दा स्थानीयलाई अनावश्यक क्षति नहुने गरी निर्णय गर्न उनीहरूले आग्रह गरेका थिए।

    मर्स्याङ्दी नदीको कटान नियन्त्रण, आँबुखैरेनी क्षेत्रको विकास तथा गोरखकाली रबर उद्योग सञ्चालनका विषयसमेत छलफलमा उठेका थिए। अर्थमन्त्री वाग्लेले सडक विस्तारका क्रममा नागरिकलाई अनावश्यक क्षति नपुग्ने गरी आवश्यक पहल गर्ने बताए। गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा सरकारले अध्ययन गरिरहेको उनको भनाइ थियो।

    रिस्ती, कलेस्ती र दुम्सीका स्थानीयले खानेपानी, सडक तथा स्वास्थ्य पूर्वाधारका लागि आवश्यक बजेटको माग गरेका थिए। दक्षिणी तनहुँ विकास पूर्वाधारका दृष्टिले पछाडि रहेको विषय आफूले गम्भीर रूपमा बुझेको भन्दै वाग्लेले त्यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने बताए।

    बेलबास बस्तीको मुआब्जा दाबी, भानु–१३ चन्द्रावती सडकलगायतका स्थानीय समस्यालाई समेत प्राथमिकतामा राखेर आवश्यक पहल गर्ने उनले बताएका थिए।

    बुधबार साँझ आँबुखैरेनीबाट सुरु भएको अर्थमन्त्री वाग्लेको जिल्ला भ्रमणका क्रममा बन्दीपुर, रिस्ती, कलेस्ती, दुम्सी, दमौली, बेलबास, मुलपानी, छिर्कन र कमलाबारीलगायतका स्थानमा भेटघाट तथा अन्तरक्रिया भएको थियो।

    निर्वाचनपछि अर्थमन्त्रीका रूपमा पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका वाग्लेले स्थानीय नागरिकका समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने बताएका छन्।

    तनहुँ–१ बाट २०८० वैशाखमा भएको उपनिर्वाचनमा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका वाग्ले २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पुनः सोही क्षेत्रबाट निर्वाचित भएका हुन्। हाल उनी अर्थमन्त्रीको जिम्मेवारीमा छन्।

    निर्वाचन क्षेत्रका नागरिकले अर्थमन्त्री वाग्लेलाई देशको आर्थिक विकासलाई प्राथमिकतामा राख्दै तनहुँका विकास आवश्यकता र जनअपेक्षालाई समेत सम्बोधन गर्न आग्रह गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page