काठमाडौं । गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली नागरिकलाई ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
यूएईको औपचारिक भ्रमणमा रहेका मन्त्री गुरुङले दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रियाका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने गरेको तर त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही हुन नसकेको भन्दै गुनासो गरेका थिए ।
त्यसक्रममा दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी धन्दामा संलग्न नेपालीलाई कानुनी दायरामा ल्याउने विषयमा नैतिक सङ्कट हुने गरेको बताएका थिए । राजनीतिक नेतृत्वबाट स्पष्ट निर्देशन आए त्यस्ता व्यक्तिमाथि कारबाही अघि बढाउन सकिने उनको भनाइ थियो ।
महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले नेपालीलाई नै ठगी गरेर नेपालको प्रतिष्ठामा आँच पुर्याउने व्यक्तिमाथि कारबाही गर्न कुनै संकोच गर्न नहुने बताए ।
‘किन नैतिक सङ्कट ? नेपालीलाई ठगेर नेपालीकै इज्जत फाल्ने जोकोहीलाई कारबाही किन नगर्ने ?’ भन्दै उनले प्रश्न गरेका थिए ।
गृहमन्त्री गुरुङले नेपाली नागरिकलाई ठगी गर्ने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशनसमेत दिए ।
विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले भ्रमणका क्रममा यूएईका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए । भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्किएका छन् ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने