काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले पदभार सम्हालेको पाँच हप्ताको अनुभव सार्वजनिक गर्दै आफ्नो काम र प्रतिबद्धताबारे धारणा व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै मन्त्री वादीले कुनै पनि दबाब वा प्रभावमा परेर नभई सबै नागरिकलाई समान रूपमा सेवा प्रवाह गर्ने प्रयास गरेको बताएकी छन्।
“भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम गरेको छैन र सबै नागरिकलाई समान सेवा गरेकी छु,” उनले लेखेकी छन्।
उनले कमजोर तथा सीमान्तीकृत वर्गलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै नागरिकका दुःख, आपत् र अप्ठ्यारो अवस्थामा सकेसम्म प्रत्यक्ष रूपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु,” उनले भनेकी छन्।
मन्त्री वादीले सुशासन केवल सरकारी नीतिबाट मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने बताउँदै सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेकी छन्।
उनले जनताको आशा र विश्वासका साथ सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ताको अनुभव रहेको भन्दै यस अवधिमा केही विचार र प्रतिबद्धताहरू सार्वजनिक गरेको बताएकी छन्। उनले १० बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेकी छन्। यस्ता छन् मन्त्री वादीका १० वाचाः
१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ ।
२. कानूनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ ।
३. कानून वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउने काम गर्दिनँ ।
४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने–गराउने काममा संलग्न हुने छैन । त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।
६. विशेष गरी—महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु । यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन ।
७. राज्यका कुनै पनि स्रोतसाधनको दुरुपयोग गर्दिनँ ।
८. सरकारी सेवा छिटो गराइदिन स्क्रिन सट खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ ।
९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी—लिने छैन ।
१०. ‘भोट दिएको हुँ’ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैनस सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण