गोरखा — प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाले जिल्लाभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूलाई दर्ता तथा नवीकरण अनिवार्य रूपमा गर्न आग्रह गरेको छ।
कार्यालयले “स्वास्थ्य संस्थाको दर्ता, नवीकरण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०८२” अनुसार डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, आँखा उपचार केन्द्र, पोलिक्लिनिक, रेडियो इमेजिङ सेवा तथा २५ शैयासम्मका निजी, सामुदायिक र सहकारी अस्पतालहरूको दर्ता, नवीकरण, स्तरोन्नति वा खारेजीसम्बन्धी अधिकार प्रदेश जनस्वास्थ्य कार्यालयमै रहेको जनाएको छ।
सूचनामा उल्लेख गरिएअनुसार तोकिएका स्वास्थ्य सेवा प्रदान गर्ने सबै संस्थाले समयमै आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। कार्यालयले दर्ता तथा नवीकरण नगरी सेवा सञ्चालन नगर्न समेत सचेत गराएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको गुणस्तर, नियमन र व्यवस्थापन प्रभावकारी बनाउन मापदण्डअनुसार सबै संस्थालाई जिम्मेवार बन्न अनुरोध गरेको छ।
