गोरखा — गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय महामन्त्री माननीय कबिन्द्र बुर्लाकोटीले आँपपिपल अस्पतालको अवलोकन तथा निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा अस्पतालको सेवा प्रवाह, पूर्वाधार अवस्था तथा उपकरण अभावबारे विस्तृत छलफल गरिएको छ।
पूर्वमन्त्री हरिशरण आचार्य, अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती देवी पाठक तथा अस्पतालका कर्मचारीलगायत सरोकारवाला व्यक्तित्वहरूको उपस्थितिमा भएको छलफलमा अस्पतालको सेवा विस्तार, गुणस्तर सुधार र आवश्यक स्रोत व्यवस्थापनका विषयमा विचार–विमर्श गरिएको थियो।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पाठकले अस्पतालको स्तरोन्नतिका लागि सांसद बुर्लाकोटीलाई आवश्यक पूर्वाधार तथा उपकरणको मागपत्र समेत बुझाएकी थिइन्। मागपत्रमा ओपीडी भवन निर्माण, आवास भवन निर्माण, ५० शैयाको सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ सेवा उपकरण, प्रयोगशाला सामग्री तथा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस्तै, हालको विद्युत् आपूर्ति प्रणालीले उपकरणको लोड धान्न नसक्दा औजार तथा उपकरणमा समस्या देखिएको, एक्स–रे मेसिन पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको तथा सर्जिकल काउटरी मेसिनलगायत अत्यावश्यक उपकरण अभाव रहेको जनाइएको छ।
कार्यक्रममा बोल्दै सांसद कबिन्द्र बुर्लाकोटीले अस्पतालको सेवा सुदृढीकरणका लागि सबै तहबीच सहकार्य आवश्यक रहेको बताए। उनले भने, “आँपपिपल अस्पतालको साख जोगाउन सबै मिलेर अघि बढ्नुपर्छ। प्रदेश र संघीय सरकारसँग समन्वय गरेर आवश्यक बजेट र पूर्वाधार व्यवस्थापन गर्न सकिन्छ।”
उनले उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गर्दै क्रमशः अस्पतालको विकास अघि बढाउनुपर्नेमा जोड दिए। साथै भवन निर्माणलगायतका काममा प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गर्दै उनले भने, “हामी पनि आवश्यक सहयोग गर्न तयार छौं। अहिले स्रोत साधनको अभाव छ, तर क्रमशः सबै मिलेर अघि बढ्नुपर्छ।”
सरोकारवालाहरूले उक्त छलफललाई अस्पतालको दीर्घकालीन सुधार र सेवा विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण