गोरखा । गोरखामा क्षयरोगका बिरामी तथा यस रोगका कारण हुने मृत्युको संख्या पछिल्ला वर्षमा घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा १३४ जनामा क्षयरोग पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।
विश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार संक्रमितमध्ये ८२ जना पुरुष, ५२ जना महिला र तीन जना बालबालिका रहेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा २७४ जनामा क्षयरोग पुष्टि भएको थियो। संक्रमितमध्ये १६७ जना पुरुष, १०७ जना महिला र छ जना बालबालिका थिए। सो अवधिमा क्षयरोगका कारण आठ जनाको मृत्यु भएको थियो।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा २३२ जनामा क्षयरोग पुष्टि भएको थियो। तीमध्ये १५५ जना पुरुष, ७७ जना महिला र नौ जना बालबालिका थिए। उक्त वर्ष क्षयरोगका कारण सात जनाको मृत्यु भएको थियो।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नारायण अर्यालका अनुसार जिल्लामा अझै पनि अनुमानित सबै क्षयरोगी पहिचान हुन सकेका छैनन्।
‘जिल्लामा अनुमानित क्षयरोगीमध्ये करिब ५० प्रतिशत मात्रै पहिचान गर्न सफल भएका छौं,’ उनले भने, ‘बिरामी समयमै स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा उपचार सुरु गर्न ढिलाइ हुने र जटिलता बढ्ने गरेको छ।’
उनका अनुसार जिल्लाका ११ वटै स्थानीय तहका ९४ वडामा रहेका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगीलाई निःशुल्क औषधि उपलब्ध गराइँदै आएको छ। औषधि सबै स्वास्थ्य संस्थामा उपलब्ध भए पनि उपचार सेवा भने सीमित स्वास्थ्य संस्थाबाट मात्रै सञ्चालन हुने भएकाले बिरामी पहिचान र उपचारमा चुनौती रहेको उनले बताए।
प्रदेश जनस्वास्थ्य कार्यालयले दुई साताभन्दा बढी लगातार खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने वा राति अत्यधिक पसिना आउनेजस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा पुगेर निःशुल्क परीक्षण गराउन आग्रह गरेको छ।
यस वर्ष विश्व क्षयरोग दिवस ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान : हाम्रो योगदान’ भन्ने मूल नाराका साथ मनाइएको थियो। कार्यालयले क्षयरोगको समयमै पहिचान, नियमित उपचार र समुदायको सक्रिय सहभागिताबाट मात्रै रोग नियन्त्रण र अन्त्य सम्भव हुने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण