logo

आइतबार, असार २१ २०८३

kantipurpationlinetv

२०८३ असार २१ आइतबार

खोप्लाङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २४७ जनाले लिए स्वास्थ्य सेवा

खोप्लाङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २४७ जनाले लिए स्वास्थ्य सेवा


  • आइतबार, असार १४ २०८३
  • 0.8K
    SHARES

    गोरखा — आँपपिपल अस्पतालको नेतृत्वमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा, प्रदेश अस्पताल गोरखा, प्रदेश आयुर्वेद चिकित्सालय गोरखा तथा पालुङटार नगरपालिकाको संयुक्त आयोजना, समन्वय तथा सहजीकरणमा पालुङटार नगरपालिका–१ स्थित खोप्लाङ स्वास्थ्य चौकीमा निःशुल्क नसर्ने रोग स्क्रिनिङ तथा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

    असार १३ र १४ गते सञ्चालन गरिएको शिविरमा मधुमेह, उच्च रक्तचाप, रक्तअल्पता, मानसिक स्वास्थ्य समस्या तथा अन्य नसर्ने रोगहरूको स्क्रिनिङ, रोकथाम तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। शिविरबाट कुल २४७ जना सेवाग्राही लाभान्वित भएका छन्।

    स्वास्थ्य परीक्षणका क्रममा २१ जनामा मधुमेह, ४७ जनामा पूर्व–मधुमेह (Prediabetes), ४२ जनामा उच्च रक्तचाप, १५ जनामा मोटोपन (BMI ≥ ३०), १८ जनामा मानसिक तनाव तथा चिन्ताको जोखिम र १७ जनामा मानसिक निराशा (डिप्रेसन) का लक्षण देखिएको पाइएको छ।

    त्यसैगरी, शिविरमा सहभागीमध्ये ८८ जना धूम्रपान गर्ने तथा ८६ जना मदिरा सेवन गर्ने रहेको तथ्याङ्क संकलन गरिएको छ। स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले १२२ जनालाई योग, ध्यान, मेडिटेसन, आहारविहार तथा जीवनशैली व्यवस्थापनसम्बन्धी परामर्श प्रदान गरिएको थियो।

    महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शिविरका क्रममा ७० जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (VIA) परीक्षणसमेत गरिएको थियो।

    आयोजक संस्थाहरूले नसर्ने रोगको समयमै पहिचान, रोकथाम र व्यवस्थापनका लागि समुदायस्तरमा यस्ता स्वास्थ्य शिविर प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। साथै, हरेक नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech