logo

शनिबार, असोज २४ २०८३

kantipurpationlinetv

२०८३ असोज २४ शनिबार

चाडपर्वलाई लक्षित गर्दै ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन

चाडपर्वलाई लक्षित गर्दै ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन


  • शनिबार, असोज २४ २०८३
  • 1.3K
    SHARES

    गोरखा । चाडपर्वका बेला हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले गोरखाको ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । एकीकृत सेवा कार्यालय, गोरखा र पालुङटार नगरपालिकाको संयुक्त टोलीले बजारमा बिक्री–वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको गुणस्तर, मूल्यसूची, उत्पादन तथा उपभोग्य मिति, खाद्य सामग्रीको भण्डारण अवस्था र व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डको निरीक्षण गरेको हो ।

    अनुगमनमा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, एकीकृत सेवा कार्यालय गोरखाका कार्यालय प्रमुख दशरथ शर्मा तथा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रमुख प्रहरी निरीक्षक दीपकबाबु केसीसहितको सहभागिता रहेको थियो ।

    चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने भएकाले व्यवसायीबाट अनुचित मूल्य असुली, म्याद गुज्रिएका सामग्री बिक्री तथा गुणस्तरमा लापरबाही हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अनुगमन गरिएको जनाइएको छ । अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न, वस्तुको वास्तविक मूल्यअनुसार कारोबार गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न र उपभोक्ताको स्वास्थ्य तथा अधिकारप्रति जिम्मेवार बन्न आग्रह गरिएको छ ।

    बजारलाई स्वच्छ, व्यवस्थित र उपभोक्तामैत्री बनाउँदै नागरिकले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु अनुगमनको मुख्य उद्देश्य रहेको छ । संयुक्त अनुगमनले अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न र उपभोक्ता ठगी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नगरपालिकाले सामान खरिद गर्दा मूल्यसूची तथा उत्पादन र उपभोग्य मिति जाँच गर्न, बिल लिन र कालोबजारी, गुणस्तरहीन वस्तुको बिक्री वा अनुचित मूल्य असुलीजस्ता गतिविधि देखिए सम्बन्धित निकायमा जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page