पालुङटारस्थित आँपपिपल अस्पतालमा आगामी बैशाखदेखि पोस्टमार्टम (मृत्युपरान्त परीक्षण) सेवा सञ्चालनमा आउने भएको छ।
अस्पताल व्यवस्थापन समितिको २०८२ साल चैत १६ गते बसेको बैठकले २०८३ साल बैशाख १५ गतेदेखि उक्त सेवा सुरु गर्ने निर्णय गरेको हो। यससँगै स्थानीय तहमै अत्यावश्यक स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ।
अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पाठकका अनुसार अस्पतालमा कार्यरत डा. रुवन क्षेत्रीले पोस्टमार्टमसम्बन्धी आवश्यक तालिम पूरा गरिसक्नुभएको छ। सेवा सञ्चालनलाई थप प्रभावकारी बनाउन थप दुई जना सहयोगी कर्मचारीलाई गण्डकी अस्पतालमा तालिमका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिइन्।
स्थानीय नागरिक समाज, जनप्रतिनिधि तथा सर्वसाधारणबाट लामो समयदेखि उठ्दै आएको मागलाई सम्बोधन गर्दै अस्पतालले सेवा सुरु गर्न लागेको अध्यक्ष पाठकले बताइन्। “पोस्टमार्टम सेवा नहुँदा यहाँका बासिन्दाले टाढा जानुपर्ने बाध्यता थियो, अब त्यो समस्या अन्त्य हुनेछ,” उनले भनिन्।
पोस्टमार्टम सेवा सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला अदालत तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय भइरहेको पनि उनले बताइन्। यस्तो सेवा सञ्चालनका लागि प्राविधिक जनशक्ति मात्र नभई कानुनी स्पष्टता र सम्बन्धित निकायसँगको सहकार्य आवश्यक पर्ने भएकाले सोहीअनुसार तयारी अघि बढाइएको जनाइएको छ।
हालसम्म पोस्टमार्टम सेवा अभावमा आकस्मिक तथा शंकास्पद मृत्युका घटनामा स्थानीयवासीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता थियो। यसले आर्थिक भारसँगै मानसिक तनाव पनि थप्ने गरेको थियो। अब आँपपिपल अस्पतालमै सेवा उपलब्ध हुने भएपछि समय, खर्च र झन्झटमा कमी आउने अपेक्षा गरिएको छ।
यसैबीच, अस्पतालमा देखिँदै आएको औषधि अभावको समस्या पनि क्रमशः समाधानतर्फ उन्मुख भएको छ। विगतमा आवश्यक औषधि नपाउँदा बिरामीहरूलाई बाहिरसम्म धाउनुपर्ने अवस्था रहे पनि हाल अस्पताल परिसरमै साझाको स्वास्थ्य संस्थानमार्फत औषधि बिक्री सेवा सुरु भएपछि सहजता आएको छ।
अध्यक्ष पाठकका अनुसार यस पहलले उपचार प्रक्रियामा सहजता ल्याउनुका साथै स्वास्थ्य सेवाप्रति जनविश्वाससमेत बढाएको छ। “औषधि अभावका कारण हुने समस्या घट्दै गएको छ, जसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ,” उनले भनिन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी