काठमाडौं: काठमाडौंको तारकेश्वर–३ स्थित आयुर्वेद हेल्थ होम नागार्जुन सेन्टरमा आयुर्वेदिक जीवनशैली प्रवद्र्धन तथा स्वस्थ जीवनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘आरोग्योत्सव’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले स्वास्थ्य, योग, प्राकृतिक उपचार तथा समग्र जीवनशैली सुधारका विविध पक्ष समेट्दै सहभागीहरूलाई महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ।
तारकेश्वर नगरपालिकाकी कार्यवाहक मेयर सृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, योग प्रशिक्षक, आयुर्वेद विशेषज्ञ तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगरपालिकाकी उपप्रमुख अर्यालले तारकेश्वर नगरपालिकाले आयुर्वेद तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले आयुर्वेद क्षेत्रको विकासका लागि नगरपालिका हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालको प्रस्तावमा पारित भई पहिलोपटक विश्वभर मनाइएको अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा उहाँले सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यसको महत्वबारे समाजमा सकारात्मक सन्देश फैलाउन आग्रह गर्नुभयो। साथै, केही स्थानमा वेलनेसका नाममा भइरहेका गलत गतिविधितर्फ सचेत रहन आयुर्वेद क्षेत्रले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा आयुर्वेद हेल्थ होम नागार्जुन सेन्टरका प्रमुख डा. बद्री कोइरालाले आरोग्य भनेको रोग नहुनु मात्र नभई शारीरिक, मानसिक र आत्मिक सन्तुलनको अवस्था भएको बताउनुभयो। यस्तो सन्तुलनका लागि आयुर्वेद, योग र ध्यानको अभ्यास अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो।
आयुर्वेद काउन्सिलका अध्यक्ष प्रा.डा. श्याममणि अधिकारीले यस्ता कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउँदै प्राकृतिक उपचार विधि अपनाउन प्रेरित गर्ने र दीर्घकालीन रूपमा समाजको समग्र स्वास्थ्य सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष परशुराम अर्यालले आयुर्वेद प्रवद्र्धनमा वडा तथा नगरपालिका सदैव सकारात्मक रहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो।
नेपाल ट्राभल्स एण्ड टुरका वरिष्ठ उपाध्यक्ष जिस्वान तुलाधर श्रेष्ठले अन्तर्राष्ट्रिय वेलनेस दिवसले नेपालमा मेडिकल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
युवा आयुर्वेद चिकित्सक संस्थाका संस्थापक अध्यक्ष डा. व्योम कोइरालाले ‘आरोग्योत्सव’ को मुख्य उद्देश्य समाजमा स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्नु, प्राकृतिक उपचार विधिको प्रवद्र्धन गर्नु तथा आयुर्वेदलाई जनजीवनसँग नजिक बनाउनु रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रममार्फत अन्तर्राष्ट्रिय वेलनेस दिवसको सन्देश व्यापक रूपमा फैलाउने लक्ष्य राखिएको जानकारी दिनुभयो।
कार्यक्रममा डा. सन्तोष ठाकुर, आयुर्वेद क्याम्पस कीर्तिपुरका सहायक प्राध्यापक डा. शिवमंगल प्रसाद, डा. शरिता श्रेष्ठ, डा. रमेश पौडेल, डा. रबिन भुसाल, विनोद अधिकारी, सन्तोष कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले आयुर्वेद हेल्थ होम तथा यसका संस्थापक स्वर्गीय डा. ऋषि कोइरालाको योगदानको प्रशंसा गर्दै उहाँको परिकल्पनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको उल्लेख गरे।
कार्यक्रम सञ्चालन डा. सागरनाथ अधिकारीले गर्नुभएको थियो।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण