गोरखा: गोरखाको आँपपिपल अस्पतालले स्वास्थ्य सेवा विस्तार तथा बाल स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णय गरेको छ। अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती देवी पाठकको अध्यक्षतामा आज बसेको बैठकले स्वास्थ्य तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले सामान्य चिकित्सा (Health Assistant) लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। यस कार्यक्रमको उद्देश्य ग्रामीण क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्दै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु रहेको अस्पतालले जनाएको छ।
त्यसैगरी, बालबालिकाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) सँगको सहकार्यमा बृहत् नि:शुल्क बाल स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। किओच नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय बनाउन सक्रिय संस्था हो।
उक्त शिविर वैशाख १० र ११ गते सञ्चालन हुनेछ। शिविरमा वरिष्ठ बालरोग विशेषज्ञ तथा किओचका अध्यक्ष डा. भगवान कोइरालासहित विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ। शिविरमा बाल मुटुरोग, छाती रोग, मृगौला रोग, रगत तथा क्यान्सरजन्य रोग लगायतका समस्याहरूको परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिनेछ।
बैठकले शिविरलाई सफल बनाउन व्यापक प्रचारप्रसार गर्ने र स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय समेत गरेको छ।
अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती देवी पाठकले भनिन्, “बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै किओचसँगको सहकार्यमा विशेषज्ञ चिकित्सकसहितको बृहत् नि:शुल्क शिविर सञ्चालन गर्न लागेका हौँ। ग्रामीण क्षेत्रका बालबालिकाले पनि सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो। साथै, स्वास्थ्य शिक्षा कार्यक्रमले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छौँ।”
यस कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण