गोरखा — उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेसीमा निर्माण गरिएको सुविधा सम्पन्न धार्चे आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै स्थापना गरिएको यस अस्पतालले अब गाउँमै आधारभूतदेखि आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्यका लागि नेपाल आएका स्विजरल्यान्डस्थित अर्थ सि एयर नामक गैरसरकारी संस्थाका अध्यक्ष डेनियल ब्रुनरले धार्चे क्षेत्रको अवस्था प्रत्यक्ष अवलोकन गरेपछि यहाँ स्वास्थ्य संस्थाको अभाव गम्भीर रूपमा महसुस गरेका थिए। स्थानीयको आग्रह र आवश्यकतालाई मध्यनजर गर्दै उनले स्विजरल्यान्डमा आफ्ना साथीहरूसँग आर्थिक संकलन गरी जिल्लाकै नमुना तथा उत्कृष्ट अस्पताल निर्माण गर्ने उद्देश्यका साथ धार्चे गाउँपालिकाको समन्वयमा अस्पताल निर्माण प्रक्रिया अघि बढाएका हुन्।
भौगोलिक विकटता, पुनर्निर्माणको चुनौती तथा कोभिड–१९ महामारीका कारण निर्माण कार्यमा ढिलाइ भए पनि अन्ततः २०८१ मंसिर ५ गते अस्पताल भवन औपचारिक रूपमा उद्घाटन गरिएको हो। उद्घाटन गण्डकी प्रदेशकी माननीय सांसद सुशीला सिंखडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

करिब साढे पाँच करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस अस्पतालमा भवन निर्माणमा करिब साढे दुई करोड रुपैयाँ खर्च भएको छ भने करिब तीन करोड रुपैयाँ बराबरका अत्याधुनिक उपकरण तथा स्वास्थ्य सामग्री जडान गरिएको छ। निर्माणमा गाउँपालिकाको ४० प्रतिशत र अर्थ सि एयर संस्थाको ६० प्रतिशत आर्थिक सहयोग रहेको छ।
हाल अस्पतालमा २१ जना स्वास्थ्यकर्मी कार्यरत छन्, जसमा दुई जना एमबिबिएस चिकित्सकसमेत रहेका छन्। अस्पतालमा २४ घण्टा आपतकालीन सेवा, सामान्य चिकित्सा सेवा, प्रसूति सेवा, प्रयोगशाला सेवा, खोप तथा सुई सेवा, दन्त सेवा, ईसीजी सेवा, एक्स–रे सेवा, भिडियो एक्स–रे सेवा तथा औषधि सेवा उपलब्ध छन्। अस्पताल आधुनिक प्राविधिकद्वारा सञ्चालित छ। साथै घरदैलो स्वास्थ्य सेवा कार्यक्रम तथा पोस्टमार्टम (शव परीक्षण) सेवा पनि सञ्चालनमा रहेका छन् आगामी दिनहरूमा आँखा सम्बन्धी सेवा, शल्यक्रिया सेवा, स्वास्थ्य बीमा सेवा तथा दूरचिकित्सा (टेलिमेडिसिन) सेवा विस्तार गर्ने योजना रहेको छ।

अस्पतालका प्रमुख चिकित्सक सेशमान गुरुङले दुर्गम क्षेत्रका नागरिकका लागि यो अस्पताल महत्वपूर्ण उपलब्धि भएको बताए। उनले भने, “पहिले सामान्य उपचारका लागि पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो, अहिले स्थानीयमै गुणस्तरीय सेवा दिन सकिएको छ।”
स्थानीय सेवाग्राही नबिना गुरुङले अस्पताल सञ्चालनसँगै ठूलो राहत मिलेको बताइन्। उनले भनिन्, “पहिले बिरामी हुँदा डोकोमा बोकेर बजार जानुपर्थ्यो, अहिले आफ्नै गाउँमै उपचार पाउँदा ठूलो सहज भएको छ।”
धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नै स्थानीय स्तरमा सुविधा सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा आउँदा खुसी व्यक्त गरेकी छन्। उनका अनुसार पहिले बिरामीलाई घण्टौँ समय लगाएर भिरालो र जोखिमपूर्ण बाटो हुँदै डोकोमा बोकेर उपचारका लागि सहर लैजानुपर्ने बाध्यता थियो। तर अहिले गाउँमै अस्पताल सञ्चालनमा आएसँगै त्यस्तो कठिन अवस्थाको अन्त्य भएको छ। साथै, पालिकाले प्रत्येक टोलसम्म एम्बुलेन्स पुग्ने सडक निर्माण गरिसकेको जानकारी दिँदै यसले आकस्मिक स्वास्थ्य सेवामा ठूलो सहजता ल्याएको उल्लेख गरिन्।

धार्चे र चुम्रुब्री गाउँपालिकाका नागरिकलाई लक्षित गरी स्थापना गरिएको यस अस्पतालले ग्रामीण स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै मातृ तथा शिशु स्वास्थ्य सुधार, रोग रोकथाम, जनचेतना अभिवृद्धि तथा उपचार सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण