गोरखा — प्रदेश अस्पताल गोरखामा शल्यक्रिया सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। अस्पताल प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनाको अवधिमा कुल १,१९० जनाको शल्यक्रिया सम्पन्न भएको छ।
अस्पतालका सूचना अधिकारी चन्द्रबहादुर खत्रीका अनुसार सो अवधिमा ५९६ जनाको ठूलो (मेजर) शल्यक्रिया, २३४ जनाको मध्यम तथा ३६० जनाको सानो (माइनर) शल्यक्रिया गरिएको छ। यस अवधिमा सबैभन्दा बढी ६३२ जनाको जेनेरल सर्जरी गरिएको छ। त्यसैगरी ३२२ जनाको स्त्री रोग तथा प्रसूति सम्बन्धी शल्यक्रिया र २३६ जनाको अर्थोपेडिक्स तथा ट्रमा सम्बन्धी शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालमा कुल १,२९६ जनाको शल्यक्रिया गरिएको थियो। सो वर्ष ५०७ जनाको मेजर शल्यक्रिया सम्पन्न भएको विवरणसमेत सार्वजनिक गरिएको छ।
अस्पतालका अनुसार चालु आवको हालसम्म १०,०५६ जनाले यु.एस.जी सेवा, ६,१८२ जनाले इसिजी, २,६४३ जनाले फिजियोथेरापी तथा ६,४७३ जनाले आयुर्वेद सेवा लिएका छन्। साथै, १६ जना लैङ्गिक हिंसा पीडितले एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) मार्फत निःशुल्क सेवा प्राप्त गरेका छन्। सामाजिक सेवा इकाइमार्फत गरिब, असहाय, जेष्ठ नागरिक तथा हिंसा पीडित गरी ५०८ जनाले निःशुल्क तथा सहुलियत सेवा लिएको अस्पतालले जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकाल का अनुसार अस्पतालको न्यूनतम सेवा मापदण्ड ९० प्रतिशत पुगेको छ, जुन गण्डकी प्रदेशमै उत्कृष्ट मानिएको छ।
अस्पतालले गोरखा नगरपालिकासँगको सहकार्यमा आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत नगरवासीलाई विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गरिएको छ।
हाल अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याइएको छ भने फिजियोथेरापी, प्रयोगशाला तथा आयुर्वेद सेवा समेत विस्तार गरिएको छ। बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा २४ घण्टा उपलब्ध रहेको अस्पतालले जनाएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी