गोरखाली समाज यूकेको वार्षिक साधारणसभाबाट टकमाया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको छ।
अल्डरशटस्थित सुसिमोटो रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा पहिलो चरणमा औपचारिक बैठक सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख सल्लाहकार विष्णु तमाङ र बेलायत भ्रमणमा रहनुभएका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। त्यसपछि नेपाल र बेलायतका राष्ट्रिय गान बजाइएको थियो।
कार्यक्रमको सञ्चालन महासचिव गौतम गुरुङले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष टक कुमारी गुरुङले राखेकी थिइन्। आर्थिक प्रतिवेदन ट्रस्टी अशोक ढकालले प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख सल्लाहकार विष्णु तमाङ, पूर्व अध्यक्ष कर्ण दर्लामी मगर, सल्लाहकार फटकजित गुरुङ, निर्वाचन अधिकृत गणेश गुरुङलगायतले धारणा व्यक्त गरेका थिए। अध्यक्ष हेमकुमार गुरुङले आफ्नो दुई वर्षे कार्यकालको समीक्षा प्रस्तुत गर्दै कार्यकाल समापन गरेका थिए।
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत भरत रोका, निर्वाचन अधिकृत विष्णु तमाङ, गणेश गुरुङ, अशोक ढकाल र राजकुमार गुरुङ रहेका थिए।
निर्वाचन समितिले सार्वजनिक गरेको नवनिर्वाचित कार्यसमितिमा टकमाया गुरुङ अध्यक्षमा चयन भएकी छन् भने उपाध्यक्षमा हिमाला गुरुङ र राजेन्द्र गुरुङ रहेका छन्। त्यसैगरी महासचिवमा धन दर्लामी मगर, सचिवमा मनबहादुर गुरुङ र कोषाध्यक्षमा यशोदा ढकाल न्यौपाने चयन भएका छन्। सदस्यहरूमा इन्दिरा दर्लामी, गंगा राना, होमाया गुरुङ, शकुन्तला गुरुङ, देव गुरुङ, विकास गुरुङ, मणिराज गुरुङ, गौतम गुरुङ, काजी गुरुङ, देव राना र विकास बिक रहेका छन्।

निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गरिएको थियो। निवर्तमान कार्यसमितिलाई पनि सम्मानसहित धन्यवाद ज्ञापन गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष टकमाया गुरुङले सबैको सहयोग, सल्लाह र सुझावलाई आत्मसात् गर्दै समाजलाई अझ सशक्त, एकताबद्ध र सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा समाजका सल्लाहकारहरू, लिगलिग समाज यूकेका उपाध्यक्ष बमबहादुर आलेलगायत समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। महिला नेतृत्वमा अध्यक्ष चयन भएको यस अवसरलाई सहभागीहरूले ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
