असार १, काठमाडौं — काठमाडौँ मेडिकल कलेज (केएमसी) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई उपचारमा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।
नगर प्रमुख दीपक रिसाल र डा. सुनिल शर्माको पहलमा भएको उक्त सम्झौता २०८३ साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ।
सम्झौता अनुसार केएमसीको दुवाकोट युनिटमा नगरपालिकाको सिफारिसमा साधारण शैयामा भर्ना भई उपचार गराउँदा ५० प्रतिशत तथा सिनामङ्गल शाखामा उपचार गराउँदा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। (औषधि, उपकरण, इम्प्लान्ट, कलेजो प्रत्यारोपण, क्याबिन तथा कस्मेटिक सेवामा भने छुट लागू हुने छैन।)
दुवाकोटमा उपचार गर्दा ५० प्रतिशत र सिनामङ्गलमा ७५ प्रतिशत रकम बिरामीले व्यहोर्नुपर्नेछ भने बाँकी रकम नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्नेछ। यो सुविधा प्रतिव्यक्ति वार्षिक अधिकतम रु. १ लाख ३ हजार सम्मको उपचार खर्चमा मात्र लागू हुनेछ।
मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीका लागि नगरपालिकाले थप रु. ३ लाख ९ हजार सहयोग गर्नेछ। अन्य सहुलियतसहित एक व्यक्तिले अधिकतम रु. ४ लाख १२ हजार सम्म सहयोग पाउने व्यवस्था गरिएको छ। सरकारी बीमा तथा विपन्न नागरिक औषधोपचार सुविधा प्रयोग गरेपछि पनि नपुग रकममा केएमसीले थप रु. ४ लाख १२ हजार सम्म छुट दिने व्यवस्था गरिएको छ।
त्यसैगरी उपचारका क्रममा आवश्यक पर्ने रगतको प्रयोगशाला परीक्षण शुल्क बापत प्रतिपिन्ट रु. १,२१० नगरपालिकाले अस्पताललाई व्यहोर्नेछ।
सम्झौताअनुसार सरकारी बीमा, विपन्न नागरिक उपचार सुविधा लगायतका सेवा प्रयोग गरिसकेपछि मात्र यो सहुलियत लागू हुनेछ। सहुलियत लिन नगरवासीले निवेदन, नागरिकता वा मतदाता परिचयपत्र, जन्म वा विवाह दर्ता तथा बीमा कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
सम्झौता कार्यक्रममा उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता नारायण सुवेदी, वडा अध्यक्षहरू तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा