काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, स्वेच्छिक कर अनुपालनलाई प्रोत्साहन गर्दै खुसी पारेर राजस्व संकलन गर्न कर प्रशासकहरूलाई निर्देशन दिएका छन्।
बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले कर प्रशासनमा सुधारको अनुभूति करदाताले गर्नुपर्ने बताए।
‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘बजारमा कर प्रशासनमा ठूलो सुधार भएको, कर तिर्न बोझ नभएको र करदाता त्रसित नरहेको कुरा सुनिनुपर्छ।’
उनले जबरजस्ती वा दबाबमार्फत नभई स्वेच्छिक कर अनुपालन बढाएर करको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए। करदाता कर तिर्नबाट लुक्ने वा त्रसित हुने अवस्था आउन नहुने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिको अभाव भए स्पष्ट रूपमा जानकारी गराउन पनि कर्मचारीलाई आग्रह गरे। उत्कृष्ट कार्यसम्पादन गर्ने र राज्यलाई लाभ पुर्याउने कर्मचारीलाई प्रोत्साहन गर्न सरकार तयार रहेको उनले बताए।
उनले चालु आर्थिक वर्षको १६ खर्ब रुपैयाँ राजस्व लक्ष्य पूरा गर्न आन्तरिक राजस्व विभागको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै करदातालाई सहजीकरण गर्दै लक्ष्य हासिल गर्न निर्देशन दिए।
बजेटमा घोषणा गरिएका कर छुट तथा प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता सचेतना अभिवृद्धि गर्न तथा कारोबारलाई डिजिटल बनाउन विभागीय नेतृत्वले विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनले पनि गम्भीरतापूर्वक हेर्नुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्ति विकास कार्यसम्पादन र राज्यलाई पुर्याएको योगदानका आधारमा हुने स्पष्ट पार्दै सरुवाका लागि कुनै प्रकारको सोर्सफोर्स प्रयोग नगर्न कर्मचारीलाई आग्रह गरे।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी