logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने


  • मंगलबार, साउन २६ २०८३
  • 77
    SHARES

    काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् ।

    प्रतिनिधिसभामा सोमबार जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिइन् । नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको उनले बताइन् ।

    मन्त्री मेहताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा विस्तार र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको छ ।

    लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको उनले बताइन् ।

    ‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,’ मन्त्री मेहताले भनिन्, ‘नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो ।’

    उनले एक ठाउँमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको बताइन् । सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उनको भनाइ छ ।

    ‘हाम्रो उद्देश्य एउटै हो– दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,’ मन्त्री मेहताले भनिन् ।

    मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्नसमेत आग्रह गरेकी छन् ।

    सरकारले ढल्केबरको दीर्घकालीन ट्रमा सेन्टर निर्माणलाई निरन्तरता दिँदै लहानबाट तत्काल ट्रमा सेवा उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page