logo

सोमबार, चैत्र ८ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ८ सोमबार

निर्वाचन आयोगको तथ्यांक—प्रति मतदाता २८४ रुपैयाँ खर्च

निर्वाचन आयोगको तथ्यांक—प्रति मतदाता २८४ रुपैयाँ खर्च


  • शुक्रबार, चैत्र ५ २०८२
  • 91
    SHARES

    काठमाडौं: गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

    प्रतिनिधिसभा निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइसकेपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्च मितव्ययी बनाउन आयोगले यसअघि खरिद गरिएका सामग्री पुनः प्रयोग गर्ने नीति अवलम्बन गरेको जानकारी दिए।

    उनका अनुसार निर्वाचन सामग्री खरिद गर्दा सरकारको स्वामित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी खरिद गरिएको थियो। ५० प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको र १३ प्रकारका सामग्री आयोगबाट खरिद गरी जिल्लागत रूपमा ढुवानी गरिएको थियो।

    निर्वाचन प्रयोजनका लागि आयोगले ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो। प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भइसकेको आयोगले जनाएको छ। केही खर्चको भुक्तानी भने अझै बाँकी रहेको बताइएको छ।

    निर्वाचनमा स्वदेशी तथा विदेशी पर्यवेक्षकको सहभागिता पनि रहेको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ कूटनीतिक निकायका १६४ प्रतिनिधि तथा तीन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए भने राष्ट्रियतर्फ ३५ गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।

    निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रियामा सहभागी भई मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेको छ। साथै निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा अन्तर्राष्ट्रिय समुदायप्रति पनि धन्यवाद ज्ञापन गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech