logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड हुने

मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड हुने


  • बिहिबार, बैशाख १० २०८३
  • 2.7K
    SHARES

    गोरखा — प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा वैशाख १४ गते प्रतियोगिता सञ्चालन गरिने भएको हो।

    बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने जानकारी दिइएको छ। समिति अध्यक्ष प्रेम तामाङका अनुसार प्रदेशस्तरीय उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट मात्र सहभागिता रहनेछ।

    उनका अनुसार फरक–फरक दूरीका तीन वटा दौड प्रतियोगिता सञ्चालन गरिनेछ, जसमा प्रत्येक जिल्लाबाट एक जना पुरुष र एक जना महिला सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

    मनकामनादेखि गोरखा दरबारसम्मको ४२.१९५ किलोमिटर म्याराथन दौडमा प्रथम हुनेले (महिला तथा पुरुष दुवै) ५५ हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वना हुने दुई जनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उक्त दौड ताक्लुङ–तीनमाने–घैरुङ–नाम्जुङ–काउलेभंगार–बुंकोट–ढुङ्गागाढे–आहाले भञ्ज्याङ–बराह मन्दिर–हस्पिटल चोक–हरमटारी–बसपार्क–विपी चौतारा–ठुलोआँगन–सतिपिपल–गैरीकुवा हुँदै गोरखाकाली मन्दिरमा पुगेर सम्पन्न हुनेछ।

    त्यसैगरी मनकामनादेखि तीनमानेसम्मको १० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। मनकामनादेखि जुम्ली चौतारासम्मको ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

    प्रतियोगितामा विभागीय टोलीहरूलाई सहभागी गराइने छैन। खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष तामाङले बताए।

    प्रतियोगितामा सहभागी खेलाडीहरूको यातायात, खानपान तथा बसोबासको व्यवस्था आयोजकले गर्ने जनाएको छ। साथै, प्रतियोगिताका विजेताहरूलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page