logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

गोरखामा ८२ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान गराउने

गोरखामा ८२ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान गराउने


  • सोमबार, बैशाख १४ २०८३
  • 2K
    SHARES

    गोरखा — जिल्लामा जन्मेको छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने (पूर्ण स्तनपान) आमाको सङ्ख्या ८२ प्रतिशतमा सीमित रहेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार १८ प्रतिशत आमाले भने शिशुलाई पूर्ण स्तनपान नगराएको देखिएको हो।

    कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्काका अनुसार शिक्षित तथा आर्थिक रूपमा सबल परिवारका आमाहरूमा नै पूर्ण स्तनपान गराउने दर कम देखिएको छ। ‘शिक्षित र जागिरे आमाहरू व्यस्तताका कारण शिशुलाई बजारमा पाइने बट्टाको दूध (ल्याक्टोजेन) खुवाउन बाध्य छन्,’ उनले भने। सरकारले तीन महिना मात्र सुत्केरी बिदा दिने व्यवस्था भएकाले जागिरे महिलाहरूले शिशुलाई छ महिनासम्म पूर्ण स्तनपान गराउन कठिन भइरहेको उनले बताए। आर्थिक रूपमा सक्षम परिवारहरूले बट्टे दूध प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको समेत उनले उल्लेख गरे।

    खड्काका अनुसार बट्टे दूधमा चिनी मिसाइएको हुने भएकाले शिशुहरूले त्यसप्रति आकर्षण बढाउँछन् र बिस्तारै आमाको दूध खान छोड्ने प्रवृत्ति देखिन्छ। यसले दीर्घकालीन रूपमा शिशुको पोषण र स्वास्थ्यमा असर पार्ने गरेको उनको भनाइ छ।

    प्रदेश अस्पताल गोरखाका बालरोग विशेषज्ञ डा. प्रकाश शर्माले बट्टे दूध शिशुको शारीरिक तथा मानसिक विकासका लागि उपयुक्त नहुने बताए। उनका अनुसार पूर्ण स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरमा आवश्यक एन्डिबडी विकास गर्न मद्दत गर्छ। ‘पूर्ण स्तनपानले सुत्केरी आमाको स्वास्थ्य पुनःस्थापनामा पनि सहयोग पुग्छ,’ उनले भने, ‘यसले स्तन क्यान्सरजस्ता रोगको जोखिम घटाउने र बालबालिकामा कम तौलको समस्या रोक्न मद्दत गर्छ।’

    कार्यालयका अनुसार गोरखामा ९ प्रतिशत बालबालिका कम तौलका रहेका छन्। पूर्ण स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भए पनि पछिल्ला वर्षहरूमा यसको दर घट्दो क्रममा रहेको छ।

    नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको दर ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउनेको दर ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनेको दर ९४ प्रतिशत रहेको खड्काले जानकारी दिए।

    स्वास्थ्य मापदण्डअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने, छ महिनासम्म पूर्ण स्तनपान गराउने र त्यसपछि पूरक आहारसहित दुई वर्षसम्म स्तनपान जारी राख्ने तीन प्रमुख अभ्यास सिफारिस गरिएको छ। यी अभ्यास अपनाउँदा नवजात शिशु मृत्युदरमा करिब २० प्रतिशतसम्म कमी आउने जनाइएको छ।

    प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले बट्टे दूधको प्रयोग निरुत्साहित गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ तथा नियमावली २०५१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, स्तनपान परामर्शदाता तालिम सञ्चालन गर्ने तयारी पनि भइरहेको कार्यालय प्रमुख सिम्रन काफ्लेले बताइन्।

    नेपालमा हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाइने गरिन्छ। दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ९० प्रतिशतभन्दा माथि पु¥याउने लक्ष्य निर्धारण गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page