काठमाडौं, २० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट झेलिरहेका नागरिक तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई राहत र सहजीकरण गर्न सकिने उपायबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन्।
अर्थ मन्त्रालयमा बुधबार आयोजित छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए। छलफलको सुरुवात गर्दै अर्थमन्त्री वाग्लेले उनीहरूलाई मुलुकका अनुभवी अर्थशास्त्री भन्दै अर्थतन्त्र सुधारका लागि व्यावहारिक सुझाव दिन आग्रह गरे।
उनले वित्तीय संकटका कारण समस्यामा परेका नागरिक तथा निजी क्षेत्रलाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा ठोस सुझाव माग्दै विगतका नीतिका कारण समस्यामा परेका उद्योगी–व्यवसायीलाई पुनः आर्थिक गतिविधिमा फर्काउने उपाय खोज्नुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले ऋण तिर्न नसकी कालोसूचीमा परेका हजारौँ नागरिकलाई दोस्रो अवसर प्रदान गर्न सकिने नीतिगत विकल्पबारे समेत सुझाव दिन राष्ट्र बैंकका अधिकारीहरूलाई आग्रह गरे।
उनले मौद्रिक नीतिमार्फत स्वच्छ नियमन, लगानीमैत्री वातावरण र वित्तीय सहजीकरणलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए।
छलफलका क्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठनपछि बजारमा क्रमशः आत्मविश्वास बढ्दै गएको र अर्थतन्त्र सुधारका संकेत देखिन थालेको बताएका थिए। यद्यपि, कोभिड–१९ महामारीपछिको असर अझै पूर्ण रूपमा हटिनसकेको र त्यसबाट प्रभावित नागरिक तथा निजी क्षेत्रलाई पुनः सबल बनाउन चुनौती रहेको उनीहरूको भनाइ थियो।
उनीहरूले छोटो अवधिमा कालोसूचीमा परेका ऋणीको संख्या उल्लेख्य रूपमा बढेकाले त्यसले बजारमा निराशा सिर्जना गरेको उल्लेख गर्दै वित्तीय संस्थाको लगानी सुरक्षा कायम राख्दै समस्यामा परेका नागरिक र व्यवसायीलाई राहत दिने उपयुक्त नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखेका थिए।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला