logo

शनिबार, साउन ३० २०८३

kantipurpationlinetv

२०८३ साउन ३० शनिबार

बोस्टन सप्ताह ज्ञान महायज्ञ २०२६ अगस्ट १६ देखि २३ सम्म आयोजना हुँदै

बोस्टन सप्ताह ज्ञान महायज्ञ २०२६ अगस्ट १६ देखि २३ सम्म आयोजना हुँदै


  • शनिबार, साउन ३० २०८३
  • 4.3K
    SHARES

    नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको बोस्टनमा ‘बोस्टन सप्ताह ज्ञान महायज्ञ २०२६’ आयोजना हुने भएको छ।

    पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ग्ल्यान्डको आयोजनामा भोलि अगस्ट १६ देखि २३ गतेसम्म ब्रेनट्रीमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो। नेपालीहरूको आस्थाको केन्द्रका रूपमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसरमा महायज्ञ आयोजना गरिने आयोजकले जनाएको छ।

    महायज्ञमा नेपालका चर्चित कथावाचक वाचन प्रवीण दिनबन्धु पोखरेलबाट कथा वाचन तथा धार्मिक प्रवचन हुनेछन्। साथै बौद्ध गुरुहरूको विशेष उपस्थितिमा धार्मिक प्रवचनसमेत हुने छ। मीन केसीलगायत स्थानिय कलाकारको विशेष भजन प्रस्तुति रहने आयोजक टिमले बताउनु भएको छ ।

    विदेशमा रहेर पनि नेपाली धर्म, संस्कृति तथा परम्पराप्रति आस्था र माया राख्ने न्यू इङ्ग्ल्यान्ड आसपासका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आयोजक टिमले आग्रह गरेको छ।

    आयोजकका अनुसार महायज्ञ धार्मिक कार्यक्रम मात्र नभई विदेशमा नेपाली धर्म तथा संस्कृतिको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने महत्वपूर्ण अवसरसमेत हो।

    महायज्ञबाट संकलन हुने दान–दक्षिणा पशुपतिनाथ तथा बुद्ध मन्दिरको सञ्चालन र संरक्षणमा उपयोग गरिने जनाइएको छ। विदेशमा रहेर पनि नेपाली समुदायको धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउन फाउन्डेसनले निरन्तर काम गर्दै आएको आयोजकको भनाइ छ।

    पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ग्ल्यान्डले सन् २०१७ मा पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माण गर्ने उद्देश्यसहित ‘बोस्टन सप्ताह २०१७’ आयोजना गरेको थियो। उक्त महायज्ञमा भक्तजन तथा नेपाली समुदायबाट प्राप्त सहयोग र आशीर्वादबाट मन्दिर निर्माण गर्न सफल भएको आयोजकले जनाएको छ। सो अवसरमा नेपालबाट आएका चर्चित कथावाचक वाचन प्रवीण दिनबन्धु पोखरेलले कथा वाचन गरेका थिए भने बौद्ध गुरुहरूको समेत विशेष उपस्थितिमा धार्मिक प्रवचन भएको थियो। सोही धार्मिक तथा सामुदायिक अभियानको निरन्तरताका रूपमा यस वर्ष पनि बोस्टन सप्ताह ज्ञान महायज्ञ २०२६ आयोजना गर्न लागिएको आयोजक टिमले जनाएको छ।

    पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ग्ल्यान्डले न्यू इङ्ग्ल्यान्ड क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई परिवारसहित महायज्ञमा उपस्थित भई धार्मिक तथा सांस्कृतिक अभियानमा सहभागी हुन अनुरोध गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page