logo

सोमबार, साउन २५ २०८३

kantipurpationlinetv

२०८३ साउन २५ सोमबार

क्यानडामा अगस्ट २३ मा ‘आमाको चौथो मोमो फेस्टिभल’, नेपाली स्वाद र संस्कृति प्रवर्द्धन गरिँदै

क्यानडामा अगस्ट २३ मा ‘आमाको चौथो मोमो फेस्टिभल’, नेपाली स्वाद र संस्कृति प्रवर्द्धन गरिँदै


  • आइतबार, साउन २४ २०८३
  • 1.4K
    SHARES

    नेपाली मौलिक स्वाद, संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले क्यानडामा ‘आमाको चौथो मोमो फेस्टिभल’ आयोजना हुने भएको छ।

    अल्बर्टास्थित कोक्रेनमा आगामी अगस्ट २३, २०२६ मा आयोजना हुने फेस्टिभल बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रममा विभिन्न स्वादका मोमो, सांगीतिक प्रस्तुति तथा बालबालिकाका लागि विशेष किड्स जोन लगायतका गतिविधि रहनेछन्।

    क्यालगरीमा व्यावसायिक रूपमा सक्रिय एक्जिक्युटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित Aama Nepalese Cuisine ले फेस्टिभल आयोजना गर्न लागेको हो। आफ्नी दिवंगत आमाको सम्मान तथा सम्झनामा सञ्चालनमा ल्याइएको उक्त रेस्टुरेन्टमार्फत सेफ ज्ञानेन्द्रले नेपाली मौलिक परिकारलाई क्यानडाको स्थानीय तथा अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउँदै आएका छन्।

    सेफ ज्ञानेन्द्रले नेपाली खानालाई केवल परिकारका रूपमा नभई नेपालको संस्कृति, पहिचान, आतिथ्य र मौलिकताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनको नेतृत्वमा सञ्चालित Aama Nepalese Cuisine ले ‘Calgary’s Best New Restaurants 2024 – Avenue Calgary’ सम्मानसमेत प्राप्त गरेको छ।

    आतिथ्य तथा पाककलाको क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय सेफ ज्ञानेन्द्रले Hyatt Regency, Hilton Hotels, Fairmont Hotels, Sheraton, Marriott र Millennium Hotels लगायतका अन्तर्राष्ट्रिय होटल ब्रान्डमा काम गरेको अनुभव हासिल गरेका छन्। उनले अस्ट्रियाको भियनाबाट Culinary Arts सम्बन्धी डिप्लोमा समेत प्राप्त गरेका छन्।

    मोमोमार्फत नेपाली पहिचानको प्रवर्द्धन

    ‘आमाको मोमो फेस्टिभल’लाई नेपाली खानाको प्रवर्द्धन अभियानकै निरन्तरताका रूपमा लिइएको छ। नेपालीको घर–घरमा लोकप्रिय मोमोलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्दै त्यससँग जोडिएको नेपाली संस्कृति, परिवार र आतिथ्यलाई समेत चिनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

    ‘मोमो नेपाली खानाको लोकप्रिय परिकार मात्र होइन, यससँग हाम्रो संस्कृति, परिवार र आतिथ्य पनि जोडिएको छ। मोमोको माध्यमबाट नेपाली स्वादसँगै नेपाल र नेपालीको पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउनु हाम्रो उद्देश्य हो,’ सेफ ज्ञानेन्द्रले भने।

    फेस्टिभलमा नेपाली समुदायसँगै क्यानडाका स्थानीय तथा अन्य अन्तर्राष्ट्रिय समुदायलाई समेत सहभागी गराउने तयारी गरिएको छ। परिवारसहित सहभागी भएर मनोरञ्जन लिन सक्ने वातावरण निर्माण गर्न सांगीतिक प्रस्तुति तथा बालबालिकाका लागि किड्स जोनलगायतका कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

    फेस्टिभल अगस्ट २३, २०२६ मा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म Aama Nepalese Cuisine, 100 Horse Creek Road, Unit #2106, Cochrane, Alberta, Canadaमा आयोजना हुनेछ।

    नेपाली स्वाद, संस्कृति र आतिथ्यलाई क्यानडाको बहुसांस्कृतिक समुदायमाझ पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको फेस्टिभल नेपाली मौलिक खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि महत्वपूर्ण कार्यक्रम बन्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page