काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफ्नो प्रतिबद्धता र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलले सरकारलाई सही बाटोमा ल्याउने क्षमता राख्ने बताएका छन्।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै लामिछानेले सरकार आफ्नो लक्ष्यअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै कामबाट विचलित भए सरकारलाई पुनः सही बाटोमा ल्याउने बताए।
‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ। बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ,’ उनले भने।
लामिछानेले सरकारको कामकारबाहीलाई लिएर विभिन्न किसिमका हल्ला चल्ने गरेको भन्दै त्यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनले राजनीतिक यात्रामा आउने उतारचढावलाई जहाज उडानका क्रममा हुने टर्बुलेन्ससँग तुलना गरे।
‘लिकबाट बाहिर गयो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ,’ उनले भने, ‘अलिकति टर्बुलेन्स आइरहन्छन्। बाटोमा कहिलेकाहीँ बादलको टुक्रामा जहाज छिर्दा हल्लिन्छ, तर जहाज हल्लियो भन्दैमा दुर्घटनामा पर्ने भयो कि, खसिने भयो कि भनेर डर मान्नु पर्दैन।’
उनले प्रतिपक्षी दलहरूले सरकारका गतिविधिलाई लिएर नागरिकमा अनावश्यक त्रास सिर्जना गरिरहेको दाबीसमेत गरे। राजनीति लामो समयसम्म गर्न सकिने भए पनि आफ्नो कार्यकालमा इमान्दारितापूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।
‘प्रतिपक्षी दलहरूले यस्तो ताल छ भनेर तपाईंहरूलाई अत्याउन सक्छन्। राजनीति सधैँभरि गरौँला, पुस्तौँ पुस्तासम्म गरौँला र जीवनभरि राजनीति गरौँला भन्ने कोही पनि छैन,’ लामिछानेले भने।
उनले अहिलेको समय उपलब्धि देखाउनेभन्दा पनि आधार निर्माण गर्ने चरण भएकाले तत्कालै ठूलो संरचना देखिन नसक्ने बताए। ‘हामी आफ्नो पालामा आफ्नो अवधिभर इमान्दारिताका साथ काम गर्छौँ। जग खन्ने बेला भएकाले स्ट्रक्चर आउन गाह्रो छ। आत्तिनुपर्ने, तर्सिनुपर्ने केही छैन,’ उनले भने।
प्रधानमन्त्री बालेन्द्र शाहको नाम नलिई लामिछानेले वर्तमान सरकारसँग गरिएको प्रतिबद्धता कुनै एक व्यक्तिसँग मात्र नभई इतिहास र आगामी पुस्तासँग गरिएको वाचा भएको बताए।
‘हामीले एक मान्छेले अर्को मान्छेलाई वाचा गरेको होइन। हामीले एकले अर्कालाई होइन, इतिहासलाई, आउने पुस्तासँग वाचा गरेको हो,’ उनले भने, ‘आफ्नो वाचा, आफ्नो प्रतिबद्धताबाट पछि हट्ने, भाग्ने छुट हामी कसैलाई पनि छैन।’
लामिछानेले सरकारले आफूले तय गरेको लक्ष्यबाट बाहिर जान नहुने भन्दै सरकारलाई त्यसतर्फ निरन्तर सचेत गराइरहने बताए। यद्यपि, अहिले सरकार आफ्ना घोषित लक्ष्यभन्दा बाहिर नगएको उनको दाबी छ।