logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

हेटौँडा कपडा उद्योगसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न मन्त्री यादवको आग्रह

हेटौँडा कपडा उद्योगसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न मन्त्री यादवको आग्रह


  • शुक्रबार, साउन २९ २०८३
  • 0.7K
    SHARES

    काठमाडौं । हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपालमा कपास उत्पादन बढाउन निजी क्षेत्र तथा व्यवसायीलाई कपास खेतीमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

    कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थका रूपमा रहेको कपास ठूलो परिमाणमा विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै उत्पादन बढाउने उद्देश्यले मन्त्री यादवले व्यवसायीलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गर्नुभएको हो ।

    मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग भेट गरी नेपालमा कपास खेती विस्तार गर्ने विषयमा समेत छलफल गर्नुभएको छ । छलफलका क्रममा कृषि मन्त्री चौधरीले दाङ, बाँके, बर्दियालगायतका जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको बताउनुभएको थियो ।

    नेपालमा कपास खेतीको पर्याप्त सम्भावना रहे पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती हुन नसक्दा कपडा उद्योग आवश्यक कच्चा पदार्थका लागि आयातमा निर्भर हुनुपर्ने अवस्था छ । सरकारले कपडा उद्योगसँगै कपास उत्पादनलाई प्राथमिकता दिन सके आयात प्रतिस्थापनसँगै किसानको आम्दानी र रोजगारीका अवसर बढाउन सकिने अपेक्षा गरिएको छ ।

    यसैबीच, लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनको प्रक्रिया पनि अघि बढेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार कारखाना सञ्चालनका लागि आवश्यक सम्पत्ति तथा दायित्व मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ ।

    हेटौँडा कपडा उद्योग सञ्चालनमा आएपछि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने र बुटवल धागो कारखानालाई समेत पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीले नेपालमा कपासदेखि धागो हुँदै कपडासम्मको उत्पादन शृंखला विकास गर्ने सम्भावना बढेको छ ।

    मन्त्री यादवले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै आउनुभएको छ । कपास खेती विस्तारमार्फत विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page