logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

देउवा समूहले गगनलाई सभापति अस्वीकार गर्‍यो, चुनदेवीमा देउवाको छुट्टै कार्यकक्ष

देउवा समूहले गगनलाई सभापति अस्वीकार गर्‍यो, चुनदेवीमा देउवाको छुट्टै कार्यकक्ष


  • बिहिबार, साउन २८ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापालाई औपचारिक रूपमा अस्वीकार गरेको छ । करिब साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवालाई नै संस्थापन इतर समूहले वैधानिक सभापति भएको दाबी गरेको हो ।

    देउवा समूहका शीर्ष नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरेका थिए । विमानस्थलबाट देउवा आफूनिकट नेताहरूले सञ्चालन गरेको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए ।

    चुनदेवीस्थित कार्यालयमा देउवा नै सभापति भएको उल्लेखसहित बोर्ड राखिएको छ । त्यहाँ देउवानिकट नेता तथा कार्यकर्ताले उनको स्वागत गरेका थिए । कार्यालयमा देउवाका लागि छुट्टै कार्यकक्षसमेत तयार पारिएको छ भने कार्यकक्षको ढोकामा उनको नामको नेमप्लेट राखिएको छ ।

    पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निस्सा दिएपछि देउवा समूहले गगन थापालाई सभापति अस्वीकार गरेको हो । समूहले शुक्रबार राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ ।

    भेलाको उद्घाटन पूर्वसभापति देउवाले गर्ने तय भएको नेता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

    भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफूहरूको वैधानिक सभापति देउवा नै भएको दाबी गरेका छन् । यद्यपि पार्टीभित्र एकताका लागि प्रयास जारी राख्ने उनले बताएका छन् ।

    स्वदेश फर्किएलगत्तै देउवाले पनि पार्टी एकताका लागि आह्वान गरेका थिए । उनले पार्टीभित्र देखिएको असहमति र निराशालाई तत्काल समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    कांग्रेसभित्र नेतृत्व र पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्किरहेका बेला देउवा समूहले छुट्टै भेला आयोजना गर्न लागेको हो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page