logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

गगन थापाको नेतृत्वमा कांग्रेस अझ बलियो बन्छ : विश्वप्रकाश शर्मा

गगन थापाको नेतृत्वमा कांग्रेस अझ बलियो बन्छ : विश्वप्रकाश शर्मा


  • शुक्रबार, साउन २९ २०८३
  • 98
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टी थप बलियो र सबल भएर अघि बढ्ने दाबी गरेका छन्।

    सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र देखिएका राजनीतिक तथा कानुनी विषय संवादका माध्यमबाट संविधान, कानुन र पार्टी विधानको आधारमा समाधान हुने विश्वास व्यक्त गरे।

    सभापति थापाले सबै पक्षलाई साथमा लिएर अघि बढ्ने प्रयास गरिरहेको उल्लेख गर्दै शर्माले देशभरका नेता तथा कार्यकर्ताले व्यक्त गरेको भावना र दृढताको आधारमा कांग्रेस आगामी दिनमा थप सुदृढ भएर अघि बढ्ने बताए।

    ‘सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिराख्नुभएको छ,’ शर्माले भने, ‘देशभरिका साथीहरूले व्यक्त गर्नुभएको दृढता र भावनाको जगमा पूर्ण विश्वासका साथ भन्न सक्दछु, आगामी दिनमा विकास भएर जाने हाम्रो संकल्प अझ बलियो भएर जान्छ।’

    उनले कांग्रेसभित्र देखिएका राजनीतिक विषय राजनीतिक ढंगबाटै समाधान हुने धारणा राखे। संविधान, कानुन, पार्टी विधान, पार्टीको इतिहासको निरन्तरता र कार्यकर्ताको भावनालाई आधार बनाएर कांग्रेसले राष्ट्रिय शक्तिका रूपमा आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने उनको भनाइ थियो।

    सर्वोच्च अदालतले वैशाख ४ गते नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सदर गरेपछि पार्टीभित्र त्यसलाई कसैको जित वा हारका रूपमा नलिई समाधान खोज्ने प्रयास गरिएको शर्माले बताए।

    फैसला आएको ४८ घण्टा नपुग्दै सभापति थापा तत्कालीन कार्यवाहक सभापतिको निवासमा पुगेर संवाद गरेको स्मरण गर्दै शर्माले पार्टीभित्र सहमति र एकताका लागि निरन्तर छलफल हुँदै आएको जानकारी दिए।

    उनका अनुसार जेठ १६ गते पार्टी एकताका लागि सातबुँदे प्रस्तावसमेत लिखित रूपमा नेताहरूसमक्ष पठाइएको थियो। सर्वोच्च अदालतले निस्सा दिएपछि इतर समूहको भेलाबाट अर्को दल बन्ने सम्भावना अन्त्य भएको शर्माको दाबी छ।

    उनले पार्टीभित्रका सबै पक्ष संवादका लागि खुला रहेको पनि बताए।

    ‘भेला सकिएपछि हामी संवाद गर्नेछौँ। भेला सकिँदासम्म हाम्रो बैठक चल्न सक्छ। हामी संवादका लागि खुला छौँ,’ शर्माले भने, ‘यो पार्टी सबैको हो भन्ने कुरा अग्रज नेता र भेलामा आउने सबैले गहिरो रूपमा आत्मसात् गर्नुहुन्छ भन्ने विश्वास गर्छौँ।’

    शर्माले कांग्रेसभित्र देखिएका मतभेदलाई संवाद, संविधान, कानुन र पार्टी विधानको आधारमा समाधान गर्दै पार्टीलाई थप एकताबद्ध र प्रभावकारी राष्ट्रिय शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page